पहिचानको आन्दोलन जारी रहन्छ: मन्त्री मोदी

निकासखबर संवाददाता

झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन् । झापाको कन्काई नगरपालिका वडा नं= ९ मा राजवंशी समाज विकास समितिद्धारा आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् ।

मन्त्री मोदीले आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको स्मरण गर्दै प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष जारी रहने बताए । “एमाले कांग्रेसले यो देशमा गणतन्त्र आउनै सक्दैन भन्थे, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ” मन्त्री मोदीले भने, “कुनै न कुनै बेला संघर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले अवश्य प्रतिफल प्राप्त गर्छ ।”

मन्त्री मोदीले १ नम्बर प्रदेशको नाम कोसी राखिसके पनि पहिचानसहितको नामका लागि संघर्ष जारी रहने बताए । “१ नम्बर प्रदेशको नामकरण भइसकेको छ, हामी पहिचानसहितको नामकरणकै पक्षमा थियौँ, तर कांग्रेस र एमालेले कोसीबाहेकको नाम सुन्नै चाहेनन्” उनले भने, “संघर्षको अध्याय सकिएको छैन, पहिचानसहितको नामकरणको लागि हाम्रो संघर्ष झन् कठोर भएर अगाडि बढ्छ ।”

मन्त्री मोदीले माओवादी आन्दोलनले नै पहिचानको आन्दोलन जन्माएको बताउँदै भने, “पहिचानकै लागि माओवादीले १० वर्षे जनयुद्ध गरेको हो, हजारौँ सहिदले बलिदानी गरेका हुन्, लाखौँ घाईते अपाङ्ग र टुहुरा भएका हुन् । त्यसैले अधिकार प्राप्ति नभएसम्म पहिचानको आन्दोलन जारी रहन्छ ।”

त्यस्तै झापाको बिर्तामोडमा कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालले सहिद सप्ताहको अवसरमा आयोजना गरेको सहिद सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले पहिचानको आन्दोलनको स्वरुपलाई थप परिस्कृत गर्दै संघर्षमा जानुपर्ने समेत बताए । “नामकरणको सन्दर्भमा जे भए पनि पहिचानमा आधारित हुनुपर्ने थियो, तर त्यस्तो हुन सकेन” उनले भने, “अब सकारात्मक तरिकाबाट संघर्षमा जानुपर्छ । संघर्ष नगरेसम्म श्रेष्ठता हासिल गर्न सक्दैन ।”

उत्पीडित जाति र समुदायले आफ्नो संस्कार, संस्कृति र भाषाको जगेर्नामा विशेष ध्यान दिनुपर्ने मन्त्री मोदीको भनाई थियो ।

सहिदलाई कोचिलाको सम्मान

सहिद सप्ताहको उपलक्ष्यमा कोचिला राष्टिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समिति झापाले सहिद तथा वेपत्ता परिवारलाई सम्मान प्रदान गरेको छ । शनिबार झापाको बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रमको बीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको हातबाट सहिद तथा वेपत्ता परिवारलाई सम्मान प्रदान गरेका हुन् ।

जनयुद्धका सहिदहरु विजय राजवंशी, मिसी धिमाल, टोपलाल राजवंशी, शम्भु राजवंशी, चैत लाल मेचे, टिकाराम मेचे, होलाई राजवंशी, हसीलाल राजवंशी, झरीलाल राजवंशी, टेकबहादुर राजवंशी लगायतका परिवारलाई मन्त्रीले सम्मानपत्र प्रदान गरे । कार्यक्रमको अवसरमा नवनिर्वाचित वडाध्यक्षहरुलाई पनि सम्मान गरेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य मोहन टुडु, पूर्ण सिंह राजवंशी संविधानसभा सदस्य, झलकसिंह दर्लामी पार्टी पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य सरु न्यौपाने, प्रदेश सचिवालय सदस्य झापा सह इन्चार्ज पुरुषोत्तम चुडाल, झापा जिल्ला संयोजक राजु आचार्य लगायतको उपस्थिति थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित