नेकपा स्थापना दिवसमा आज देशभर विभिन्न कार्यक्रम

निकासखबर संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसको अवसरमा नेपालका कम्युनिस्ट दलहरूले विभिन्न कार्यक्रम गर्दैछन् । सन् १९४९ मा आजकै दिन अर्थात् २२ अप्रिलमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीलगायत दलले विभिन्न कार्यक्रम गरी कम्युनिस्ट आन्दोलनको समीक्षासँगै पार्टी संस्थापकहरूको सम्झना गर्दैछन् । एमालेले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १ बजे विशेष कार्यक्रम राखेको छ । प्रमुख अतिथिका रूपमा पार्टी अध्यक्ष केपी ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि काठमाडौंसहित विभिन्न जिल्लामा कार्यक्रम गर्दैछ ।

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक हुन् ।

पार्टी घोषणाको झण्डै पाँच महिनापछि अर्थात् १५ सेप्टेम्बर १९४९ मा मात्र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको नामबाट विधिवत् घोषणापत्र जारी भएको थियो । त्यसपछि पार्टीको केन्द्रीय समिति विस्तारको बाटो खुलेको पाइन्छ ।

विस्तारित केन्द्रीय समितिमा संस्थापक महासचिव पुष्पलालसहित मनमोहन अधिकारी, तुलसीलाल आमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधि आयोध्याप्रसाद सिंह थिए । नेपाल कम्युनिस्ट पार्टीमा असन्तुष्टि र फुटको बिउ पनि यही समिति निर्माणबाट भएको पाइन्छ । किनकि यो समितिमा स्थापनाकालका चार जना नेताको नाम नै छैन । त्यसयता फुट र जुटको शृङ्खला कम्युनिस्टहरूका लागि स्वाभाविक प्रक्रियाजस्तै बन्ने गरेको देखिन्छ ।

स्थापनाको ७४ वर्षमा नेपाल कम्युनिस्ट पार्टी दर्जनौँ टुक्रामा विभाजित भइसकेको छ । स्थापना दिवससमेत एकै मञ्चबाट मनाउन नसक्ने गरी उनीहरू टाढिएका छन् । र, एकअर्काप्रति आरोप(प्रत्यारोप गरिरहेका छन् । सत्ता केन्द्रमा हुँदा कुनै कालखण्डमा मिल्ने र सत्ताकै कारण फुट्ने कम्युनिस्टहरूको विशेषताजस्तै बनेको छ ।

राजनीति आफूप्रतिकूल हुँदा असाध्यै क्रान्तिकारी कुरा गर्ने तर आफूअनुकूल भएलगत्तै क्रान्तिको एजेन्डा कुल्चिने नेताहरूको स्वार्थकेन्द्रित गतिविधिका कारण कम्युनिस्ट आन्दोलन नै धरापमा परेको व्याख्या विश्लेषण हुन थालेको छ । आफूलाई कम्युनिस्ट दाबी गर्ने दलहरू पुँजीवादी दलभन्दा तल झरिसकेको वाम बुद्धिजीवहरूको टिप्पणी छ ।

‘७४ वर्षको अवधिमा भएरगरेका राम्रा कामलाई समेत ओझेलमा पार्ने गरी नेताका व्यक्तिकेन्द्रित गतिविधि भए । यसले समग्र कम्युनिस्ट आन्दोलनलाई बदनाम गराएको छ,’ वाम विश्लेषक डा। ऋषिराज बराल भन्छन्, ‘आन्दोलनको साखचाहिँ बाँकी छ, नेताप्रतिको जनभरोसा भने टुटिसकेको अवस्था छ ।’

पार्टी स्थापना दिवसमा कार्यक्रमहरू गरिरहँदा विगतदेखि वर्तमान अनि आ(आफ्नो राजनीतिक चरित्र समीक्षा गरी सुधारिएर अघि बढ्न सके भर्खरै सुरु भएको दशकमा कम्युनिस्ट आन्दोलनले नयाँ उचाइ हासिल गर्न सक्ने डा। बरालको विश्वास छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित