त्रिभुवन विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले एकैसाथ मागे सरुवा

काठमाडौं, १३ भदौ २०८० ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ कर्मचारीहरूले एकैसाथ सामहिक राजीनामा माग गरेका छन् । भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गर्दै ३५ अधिकृतसहितका कर्मचारीले सरुवा मागेका हुन् ।

काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरुवामाग गरिएको कर्मचारीले निवदेनमा उल्लेख गरेका छन् । ‘६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको’ निवेदनमा भनिएको छ ।

‘कर्मचारीहरूले निरन्तररूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक बिदाका दिनहमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानूनबमोजिम नियमित रूपमा कामकाजमा खटिएका छौं । कामकाजको सिलसिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुव्र्यवहार र अपशब्दको त कुनै सीमा नै छैन’, महानिर्देशसमक्ष मागिएको सामूहिक सरुवाको निवेदनमा उल्लेख छ ।

‘घटनामा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै दुईमत रहेन तर, कर्तव्य पालनाका सिलसिलामा खटिएका कर्मचारीरुमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएका यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ’, निवेदनमा भनिएको छ ।

विनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको कर्मचारीको भनाई छ । आफूहरूको सरुवा मागको सुनुवाइ नभए कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुन सक्ने उनीहरूको चेतावनी दिएका छन् ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित